NRN
नेप्से ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा बन्द

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ । नेप्से ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा बन्द भएको छ ।

यसदिन नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । बिहीबार सात अर्ब ९७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार नौ अर्ब १३ करोड रूपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब १६ करोड रूपैयाँ वृद्धि भएको हो ।

आज ३१३ वटा धितोपत्रको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर किनबेच भएको छ । आइतबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ वटाको घटेको छ । 

यसदिन रिभर फल्स पावर र पियोर इनर्जीको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

आइतबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा युनिभर्सल पावर रहेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत र व्यापार समूहको परिसूचक बढेको छ भने ११ समूहको परिसूचक घटेको छ । 

यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.३२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update