
नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका निम्ति निजामती कर्मचारीलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै उनले बढ्दो महङ्गीलाई ध्यानमा राख्दै सरकारी कर्मचारीको तलब सुविधा दोब्बर बनाइनुपर्ने धारणा राखेका हुन् ।
सांसद बस्नेतले भने, ‘कर्मचारीले काम गरेनन्, कर्मचारी भ्रष्ट भए भन्ने धेरै सुनियो, साच्चिकै कर्मचारी भ्रष्ट भएका हुन त ?बढ्दो महङ्गी र कालोबजारी छ, पिउनदेखि हाकिमसम्मको तलव स्केल हेरौँ, प्रहरी, सेनाको तलब र निजी क्षेत्रको तलब तुलना गरौँ, त्यो तलबले खर्च धान्न पुग्छ त ? त्यसैले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि कर्मचारीको तलब दोब्बर वा तीन गुणाले बढाउनुपर्छ।’
सरकारले ल्याएको आगामी आवको बजेट राम्रो र सन्तुलित रहेको उल्लेख गर्दै उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सशक्त अनुगमन संयन्त्र जरुरी भएको बताए ।
उनले नारायणगढ–मुग्लिङ सडकखण्ड देशको ‘लाइफलाइन’ भएको र अर्बौ रकम खर्चिए पनि कहिले निर्माण पूरा हुने टुंगो नभएको बताए । साथै बाढीपहिरोका कारण अवरुद्ध भइरहने अवस्था अन्त्य गर्न वैकल्पिक मार्ग जरुरी भएको समेत उनले धारणा व्यक्त गरे ।