
पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटको जग्गा बिक्री भएको प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस प्रकरणमा चारवटा कसुरजन्य कार्य भएको अनुसन्धानले देखाएको छ । ती मध्ये एउटा कसुरमा माधव नेपाल व्यक्तिगत रुपमै संलग्न भएको देखिएपछि उनका विरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय भएको हो ।
पतञ्जलीलाई हदबन्दी छुटको जग्गा खरिद र बिक्री गर्न अनुमति दिँदा नेपाल नेतृत्वको मन्त्रिपरिषद्मा भूमिसुधारमन्त्रीमा डम्बर श्रेष्ठ, मुख्य सचिवमा माधव घिमिरे र भूमिसुधार सचिवमा छविराज पन्त थिए । पतञ्जलीको जग्गा बेच्न प्रस्ताव अघि बढाउन मन्त्री श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री नेपालले नै निर्देशन दिएको लिखित तथ्य अनुसन्धानमा फेला परेको छ ।
नेपालसँगै अन्य ९२ जना यसमा जोडिएका छन् । नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा लागेको यो पहिलो पटक हो ।