
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।
बिहीबार बिहान बसेको सञ्चालक समितिको ६८२ औं बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
कायममुकायम प्रमुख कार्यकारी अधिकृत हुनु अघि उनी नबिल बैंकमै नायव प्रमुख कार्यकारी अधिकृत थिए । गत चैतमा उनलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो ।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ ।
यसअघि बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना थिए । उनले चैतमा नै राजीनामा दिएका थिए ।
बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा आदर्श बजगाईलाई समेत बढुवा गरेको छ । हाल नायब महाप्रबन्धक रहेका बजगाईले असार देखि नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।