
सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न ७ बुँदे माग राखी आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्यालीसहित प्रदर्शन गरेका हुन् ।
सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय व्यवसायीले गरेका छन् ।
सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी विरोधमा उत्रेका हुन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि व्यवसायीहरुले देशव्यापी आन्दोलन घोषणा गरेका हुन् ।
सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् ।
आन्दोलनको अगुवाइ नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, र नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा गरेका हुन् ।