NRN
बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न अर्थमन्त्री पौडेलको आग्रह

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् ।

बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आजदेखि नै बजेट कार्यान्वयनतर्फ ध्यान केन्द्रीत गरेको बताएका हुन् ।

बजेट कार्यान्वयन गर्न जेठ १६ गते नै खरिद प्रक्रियामा अघि बढाउन खोजिएको जानकारी दिए ।

“बजेट कार्यान्वयनको प्रश्न चुनौतीपूर्ण छ । यो बजेट नागरिकको कान पवित्र गर्नका लागि ल्याइएको होइन । यसको प्रभावकारी कार्यान्वयन हुन्छ । आजैदेखि बजेट कार्यान्वयनमा मेरो ध्यान केन्द्रित हुनेछ”, उनले भने, “बजेटको व्यवहारिक र वस्तुनिष्ठ कार्यान्वयन कार्य योजना बनाउने कामका अर्थ मन्त्रालय लागिसकेको छ । पूर्वतयारीका काम सकिएका आयोजना कार्यान्वयनका लागि हामी साउन कुर्नै पर्दैन । अहिले नै प्रक्रिया अघि बढाउन सक्छौँ ।”

बजेटमा लिइएको आम्दानी र खर्चको यथार्थपरक रहेको उनले स्पष्ट पार्ने प्रयास गरेका छन् ।

बजेटमा चालु आर्थिक वर्षको राजस्व संशोधित लक्ष्यको १७ प्रतिशतले वृद्धि गरिएको उनले जानकारी दिए ।विभाज्य क‍‍ोषमा जाने बाहेक १३ खर्ब १० अर्ब राजस्व संकलन हुने आंकलन गरिएकोले यो लक्ष्य हासिल गर्न सकिने उनले दाबी गरे। 

त्यस्तै, आन्तरिक ऋण कुल गार्हस्थ उत्पादन (जिडिपी) को ५.५ प्रतिशतको सीमा रहेकोमा ५.३ प्रतिशत मात्रै उठाइने भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा १३ अर्ब रूपैयाँ कम आन्तरिक ऋण उठाइने भएको हो ।

राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले बजेटमा पूर्ण समर्थन रहने र कार्यान्वयन गर्न समन्वयन गरिने जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update