
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन् । लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि संविधान र नियमावलीअनुसार उनको पद रिक्त भएको घोषणा गरिएको हो ।
नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभामा पूर्वसूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था छ । सोही प्रावधानअनुसार सभामुख तुलाराम घर्ती मगरले गुरुङको पद रिक्त भएको घोषणा बुधबार बसेको छैटौं अधिवेशनको ११ औं बैठकमा गरेका हुन् ।
जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यमा चयन भएकी गुरुङ पछिल्लो साढे दुई महिनादेखि बेलायतमा बस्दै आएकी गीताले श्रीमान् कैलाश गुरुङमार्फत वैशाख अन्तिम साता राजीनामा दिएको पत्र सार्वजनिक गरेकी थिइन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा गुरुङ सबैभन्दा कम उपस्थिति हुने सांसद हुन् । पाँचौं अधिवेशनसम्म भएका ८३ बैठकमध्ये उनी ३४ बैठकमा मात्र उपस्थित भएकी थिइन् । छैंटौं अधिवेशनका १० वटै बैठकमा उनी अनुपस्थित रहिन् । तीन सांसद रहेको जनमतको अब दुई सांसद भएका छन् ।