
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको मंगलबारको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोग गठनको माग गरेको छ ।
प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका हुन् ।
‘यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन । यो त म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ । प्रश्न मन्त्रीज्यूमाथि उठेको छ, राजीनामा आउनुपर्छ,’ उनले भने, ‘आज हामी राजीनामा मात्रै माग गर्दै छैनौं । संगठित ढंगले भएको यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरण जोडिएर हेर्ने गरी छानबिन गर्ने एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न सक्दैन ।’
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा मोबाइल तथा उपकरणहरू गृह मन्त्रालय मातहतकै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने भएकाले निष्पक्ष छानबिन हुन नसक्ने उनको भनाइ थियो ।
साथै रास्वपा सांसदहरूले संसद बैठकमै गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका छन् । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद श्याम घिमिरेलाई बोल्न समय दिएपछि उनीहरूले विरोध गरेका थिए ।