NRN
ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर एमाले नेता अर्याल पक्राउ

सहकारीको ऋण लिएर नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन् ।

दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेर अटेर गरिरहेका अर्याललाई अदालतको पक्राउ पुर्जीका आधारमा सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखालाई बुझाएको हो ।

अर्याल हाल नेकपा एमाले उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्जसमेत हुन् ।

उनी आफैँ सञ्चालक समितिमा रहेर सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी सस्थाबाट २०७४ साल जेठ ३० गते एघार लाख पचास हजार ऋण लिएका थिए ।

सहकारीले वर्षौंसम्म पटक-पटक ऋण तिर्न लिखित एवं मौखिक आग्रह गर्दा पनि उनले साँवा र ब्याज भुक्तानी नगरेपछि २०७९ पुस ४ गते दिगो पर्यटन सहकारी सस्थाले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले २०८० असार २७ गते ऋणी अर्यालको नाममा रकम भुक्तानी गर्न आदेश दिएको थियो । अदालतको फैसलापछि पनि संस्थाले अर्याललाई पटक पटक रकम भुक्तानी गर्न वा एकमुष्ठ भुक्तानी गर्न नसके ब्याज रकम तिरी नबिकरण गर्न आग्रह गरेको थियो । 

किस्ताबन्दीमा भुक्तानी गर्न आग्रह गर्दा पनि चासो नदिएपछि जनताको डिपोजिटको पैसा उठाउनै पर्ने बाध्यता आइपरेको संस्थाले जनाएको छ ।

नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य रहेका अर्याल एमाले पर्यटन विभाग सदस्य समेत हुन् । उनी एमालेबाटै पर्यटन बोर्डको सदस्य समेत भएका थिए ।

अदालतको आदेश र सहकारीले दिएको किस्ताबन्दीको सुविधा समेत अटेरी गर्दै उनले राजनीतिक पहुँचका आधारमा रकम पचाउन खोजेपछि सञ्चालकहरूले फैसला कार्यान्वयनका लागि कानूनी प्रक्रियामा गएका थिए ।

अर्याललाई आवश्यक अदालती प्रक्रिया पूरा गरेर कारागार चलान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update