
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । चौधरीविरूद्ध रूपन्देही जिल्ला अदालतले विद्युतीय अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।
गत जेठ १ गते पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका चौधरी मंगलबार आफै इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएका हुन् । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।
चौधरीमाथि बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा अदालतले गत जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
अदालतको पक्राउ पुर्जी जारी भएपछि चौधरीलाई पक्राउ गरी बुझाउन भन्दै इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो ।
चौधरी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट २०७९ को निर्वाचनमा शुद्धोधन गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
चौधरीविरूद्ध यसअघि युवतीमाथि सामूहिक बलात्कार गरेको वडा प्रहरी कार्यालय बुटवलमा गत पुस २० गते जाहेरी परेको थियो । घटना भने गत असोज ५ गतेको हो ।
चौधरी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।