NRN
बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

सोमबार प्रधानमन्त्री ओली र सभापति देउवाबीच कुराकानी गर्ने भने पनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले नै सभापति देउवालाई 'मलाई सञ्चो भएन, आज भेट नगरौं' भनेका थिए।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच मंगलबार पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको जनाइएको छ । 

लामो समयदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन सकेको छैन । गभर्नरमा सभापति देउवाले यसअघि नै अर्थविद् प्रा.डा. विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका थिए ।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ । गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ मा सकिएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update