NRN
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन् । 

जापानको टोकियोमा बुधबारदेखि सुरू हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री राणा ज्येष्ठ नागरिकहरूमा हुने सामाजिक एकान्ततासम्बन्धी सो सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल) द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहने छ ।

ग्रामीण महिला तथा विकास केन्द्र (रूडुक), सुरक्षित मातृत्व सञ्जाल लगायतका संघसंस्थामार्फत् नेपाली महिलाहरूको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकी मन्त्री राणालाई सो कार्यक्रमको विशेष वक्ताका रूपमा आमन्त्रित गरिएको हो ।  

जापानमा रहँदा उनले महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update