
लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनले मंगलबार लुम्बिनीका सभामुखसमक्ष बुझाएकी हुन् ।
पदमा बसेर जनताका लागि केही गर्न नसकिएको भन्दै उनले जनताको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नदेखिएकोले पदबाट राजीनामा दिएको उल्लेख गरेकी छिन् ।
उनले लेखेकी छन्, 'देशको परिस्थिति बारे श्रीमानलाई अवगत नै होला तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आस गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा दाजुभाइ दिदी बहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ ।’
देश र जनताको पिर मर्का राम्ररी बुझेको उल्लेख गर्दै उनले देश जनता भन्दामाथि कोही नहुने बताएकी छिन् । गीता सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।
लामो समयदेखि पार्टी र उनीबीच अन्तरविरोध रहेको बताइएको छ ।
जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले भने गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिए । आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको जानकारी पनि उनले दिए ।