
नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य अर्थविद् डा. विश्व पौडेलले राजीनामा दिएका छन् ।
सत्तारुढ दुई दलका शीर्षनेताबीच पौडेललाई नै गभर्नर बनाउने सहमती भएपछि सिफारिस समितिबाट राजीनामा दिएका हुन् ।
उनले इमेलमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई राजीनामा पठाएका हुन् । पौडेलले आइतबार राजीनामा दिएको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले पुष्टि गरेको छ ।
नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो । उक्त समितिमा विज्ञको तर्फबाट पौडेल सदस्य बनेका थिए ।
सिफारिस समितिका सदस्य रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले आन्तरिक छलफल थालेको छ । पौडेललाई गभर्नर बन्नका लागि उनले समितिको सदस्यबाट राजीनामा दिनुपर्ने हुन्छ । जसका लागि उनले सदस्यबाट राजीनामा दिएका हुन् ।
नेपाल राष्ट्र बैंकको गभर्नर पद गएको चैत्र २४ गतेदेखि रिक्त रहेको छ । डेपुटी गभर्नर निलम ढुङ्गानाले कामु गभर्नरको रूपमा जिम्मेवारी सम्हाली रहेकी छन् ।