NRN
पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई एमाले नेता निलम्बित

नेकपा एमालेले कोशी प्रदेशका पूर्वमन्त्री तथा पार्टीका ताप्लेजुङ पूर्व जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङसहित दुई जनालाई निलम्बन गरेको छ ।

कोशी प्रदेश कमिटीको मंगलवार विराटनगरमा बसेको बैठकले दुवै नेतालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

हाल प्रदेश सल्लाहकार सदस्य साम्सोहाङ र प्रदेश पर्यटन विभाग सचिव मणिकुमार पोमुलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको हो ।

उनीहरुमाथि युवा संघको जिल्ला अधिवेशनमा हातपात र तोडफोडको आरोप छ ।

युवा संघ ताप्लेजुङको भेलामा झडप भएको थियो । एउटा समूहको नेतृत्व पोमुले गरेको र उनीहरुलाई निर्देशन दिँदै उक्साउने काम साम्सोहाङले गरेको एमालेको भनाइ छ । 

कुनैबेला सचिव योगेश भट्टराईका निकट सहयोगी रहेका कोशीका पूर्व मन्त्री साम्सोहाङ १० बुँदे पक्षधर हुन् ।

घटनाबारे छानवीन गर्न प्रदेश कमिटी उपाध्यक्ष टीकाराम चेम्जोङको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति गठन गरिएको छ । सो समितिको प्रतिवेदनका आधारमा थप निर्णय हुने छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update