
पोखराका ४ नम्बर वडाध्यक्ष देवकृष्ण पराजुलीले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव सुरु भएको छ ।
जनताको प्रतिनिधि रहेका उनले मंगलबार एकै दिन पोखरा महानगरपालिकामा कार्यरत कर्मचारी र पोखरा–४ चिप्लेढुंगास्थित सर्वेश्वरमार्गका व्यवसायी कुटेका हुन् ।
मादक पदार्थ सेवन गरेर मैमत्ता भएका वडाध्यक्ष पराजुलीले महानगरको प्रशासन शाखामा कार्यरत सातौं तहका अधिकृत ईश्वरीप्रसाद पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गर्दै लछारपछार गरेका थिए ।
वडाध्यक्ष पराजुलीले अपराह्न सर्वेश्वर मार्गमा सुवेदी कस्मेटिक पसल सञ्चालन गर्दै आएका व्यवसायी लेखनाथ सुवेदीलाई पनि कुटपिट गरेका थिए ।
वडाध्यक्ष पराजुलीले आफूलाई मादक पदार्थ सेवन गरेर कुटपिट गरेको व्यवसायी सुवेदीको दाबी छ ।
सर्वेश्वर मार्गमा व्यवसाय गर्दै आएका सुवेदीलाई हातपात गरेपछि सम्पर्क विहीन भएका छन् । फुटपाथमा सामान राखेको भनेर उनी व्यवसायीमाथि जाइलागेका हुन् । व्यवसायीहरूले पराजुलीमाथि कडा कारबाहीको माग गरेका छन् ।
व्यवसायीहरूले मङ्गलवार नै वडा नम्बर ४ को कार्यालय घेरेर नाराबाजी गरेका थिए ।
`महानगरका विभिन्न कर्मचारी सङ्घ सङ्गठनले विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन सहित दोषीलाई कारबाहीको माग गरिएको छ । पोखरेलको कठालो समातेर प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा कुटपिट भएको एक कर्मचारीले बताए ।
स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष अमिर भण्डारी, स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष रेशम जिसी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिना र एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष डिल्लीराम गिरीले उपमेयर मन्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र लेखेर दोषीमाथि कारबाहीको माग गरेका हुन् ।
तर, २४ घण्टासम्म पनि कुनै सुनुवाइ नभएको भन्दै कर्मचारीले महानगरको सेवा ठप्प पारेका हुन् ।