NRN
एमाले धनुषा अधिवेशनमा झडप हुँदा ५ जना घाइते

नेकपा (एमाले) धनुषाको आठौं जिल्ला अधिवेशनमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । 

घाइते हुनेमा सत्यनारायण महासेठ र रामउद्गार दास लगायत छन् ।

अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा कुर्सी हानाहान भएको थियो । एमाले सचिव महासेठ, पोलिटब्युरो सदस्य जुली महतो, केन्द्रीय सदस्य हरिनारायण महतो एकातिर छन् ।

एमाले मधेस प्रदेश संसदीय दलका नेता यादव, केन्द्रीय सदस्य उमाशंकर अरगरिया, मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, निवर्तमान अध्यक्ष राजकिशोर यादव, सञ्जीव झालगायत नेता एकातिर छन् ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा जिल्ला अधिवेशन भइरहेको छ । दुवै पक्षबीच विवाद भएपछि अधिवेशन स्थलमा टाँगिएका पन्डाल च्यातिएका छन् । कुर्सी, कम्प्युटर, ल्यापटप लगायत सामग्री तोडफोड भएका छन् ।

धनुषामा महासेठ पक्षधर बलियो मानिन्छ । महासेठ पक्षले अध्यक्षमा भोला यादव, उपाध्यक्षमा जयप्रकाश सुनरैत, सचिवमा दीपनारायण ठाकुर, उपसचिव (खुला) मा सविनविक्रम थापा र महिलातर्फ किरण कापरलाई अघि सारेको छ ।

इतर समूहले अध्यक्षमा लक्ष्मीनारायण यादव, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा धिरेन्द्रकुमार मण्डल, खुला उपसचिवमा हरिकिशोर यादव र महिला उपसचिवमा रूकाकुमारी मिश्र अघि सारेका छन् ।

गत २० वैशाखदेखि सुरु अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो । सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद सुरु भएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update