
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लालवीर चौधरीले पार्टीका संरक्षक रेशम चौधरीलाई हालै पक्राउ परी सोही दिन रिहा गरिएकोसम्बन्धी घटनामा प्रधानमन्त्रीबाट जबाफ मागेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नाउपा सांसद चौधरीले सर्वोच्च अदालतका कर्मचारी महिमानसिंह विष्टको पत्रका आधारमा रेशम पक्राउ परेको र उक्त पत्र अनधिकृत भनेर सर्वोच्चले भनेपछि रिहा भएको घटनामा सरकारको जबाफ माग गरेका हुन् ।
उनले भोलिको बैठकमा प्रधानमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी समेत दिए ।
‘महिमानसिंह विष्टले पत्र लेख्ने र पक्राउ गर्ने पत्र काट्नुभएको छ, सर्वोच्च अदालतबाट त्यो फर्जी भनेर भनिएको छ । यतिबेलासम्म पनि सरकारले कहीँकतै अभिव्यक्ति दिएको छैन । यसै सदनमा भोलिकै दिनमा प्रधानमन्त्रीजी, गृहमन्त्रीजीले जबाफ दिनु भएन भनेदेखि हामी सरकार छाड्न बाध्य हुन्छौं,’ उनले भने ।
उनले वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला पार्टीका संरक्षक चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्याइएको बताए ।
यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।