
सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
यसअघि पनि अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी राई गत शनिबार साँझ बुढानीलकण्ठ–१० कपनबाट पक्राउ परेकी थिइन् ।
राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न भएको आरोप छ । उनीमाथि उक्त सहकारीको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।
उनी जनजाती कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् ।
उनीबिरुद्ध पूरक अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।