
शिक्षक महासंघले सरकारसँग सहमति गरी आन्दोलन स्थगित गर्ने निर्णयमा कर्मचारी परिषद्ले असहमति जनाएको छ ।
परिषद्ले बिहीबार विज्ञप्ती जारी गरी शिक्षक महासंघ र सरकारबीच भएको सहमति र आन्दोलन स्थगित गर्ने निर्णयमा असहमति जनाएको हो ।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले जुन उद्धेश्यका साथ आन्दोलन गरिएको थियो त्यो पूरा नभई आन्दोलन स्थगित गरिएका कारण आफूहरूको असहमति रहेको बताएका छन् ।
त्यस्तै सरकारसँग भएको सहमतिमा विद्यालय कर्मचारीको विषयलाई ठोस रूपमा सम्बोधन पनि नगरिएको उनले बताए ।
महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औँ दिनपछि हिजाे सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिपछि आन्दोलन फिर्ता लिने निर्णय गरेको थियो ।
फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको भर्सना गरेको छ ।
साथै थप कार्यक्रम समीक्षा बैठक पश्चात् कार्यक्रमहरु सार्वजनिक गरिने जनाएको छ ।