
सुनसरीको धरानमा प्रहरीले एउटा ट्रकबाट ७८३ किलो गाँजा बरामद गरेको छ ।
बुधबार बराह बाहिनी मुख्यालय सुनसरी र धरान सुरक्षा बेसको संयुक्त टोलीले धरान उपमहानगरपालिका-१३, निशाने डाँडास्थित कोशी-लोकमार्गमा नम्बर प्लेट नभएको ट्रकलाई शंका लागी चेकजाँच गर्दा गाँजा भेट्टाएको हो ।
ट्रकको चालक सिटमाथि बक्स बनाएर २२ वटा पोकामा लुकाइछिपाइ ल्याइँदै गरेको गाँजा बरामद भएको हो ।ट्रकभित्र राखिएको अवस्थामा ना ७ ख २८१ लेखिएको नम्बर प्लेट पनि बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ट्रकका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बस्ने ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाको सिदुवा नगरपालिका–६ बस्ने १८ वर्षीय आकाश राई छन् ।
थप चेकजाँचपछि ट्रक र पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।