
काठमाडौ, शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १९ औँ साधारण सभाबाट निर्वाचित कार्य समितिले विगत १९ वर्षदेखि निरन्तर जनसेवामा समर्पित शहिद मेमोरियल अस्पतालको नयाँ व्यवस्थापन समिति गठन गरेको छ।
नवगठित व्यवस्थापन समितिको अध्यक्षमा उद्योगपति तथा समाजसेवी साईराम तीर्थ प्रधान मनोनीत हुनु भएको छ। उपाध्यक्षमा ईश्वर पौडेल, सचिवमा टुकनारायण अर्याल, कोषाध्यक्षमा बलबहादुर थापा, सदस्यमा सुजित कुँवर तथा कानुन सल्लाहकारमा बरिठ्ठ अधिवक्ता ओम थपलिया रहनु भएको छ।
अध्यक्ष साईरामले शहिदहरूको त्याग र बलिदानलाई सम्मान गर्दै शहिद मेमोरियल अस्पताललाई काठमाडौँ उपत्यकाकै नमूना, भरोसायोग्य र सेवामुखी अस्पतालका रूपमा विकास गर्ने दृढ संकल्प व्यक्त गर्नु भयो। उहाँले अस्पतालका सेवाहरूलाई अझ आधुनिक, प्रभावकारी र मानवीय बनाउँदै लैजाने, आवश्यकताअनुसार नयाँ स्वास्थ्य सेवा तथा विशेषज्ञ उपचार विस्तार गरिने स्पष्ट पार्नु भयो।

अस्पताल मार्फत शहिद परिवारलाई विशेष सहुलियत, जेष्ठ नागरिकलाई छुट, तथा आर्थिक रूपमा कमजोर बिरामीहरूका लागि पनि सुलभ र गुणस्तरीय उपचार सेवा उपलब्ध गराइने बताइएको छ। कुनै पनि बिरामी उपचारको अभावमा मर्न नपरोस् भन्ने भावनाका साथ अस्पतालको पूर्वाधार, सेवा प्रणाली र जनशक्तिलाई थप सुदृढ गरिने अध्यक्ष साईरामको भनाइ छ।
नयाँ व्यवस्थापन समितिको नेतृत्वमा शहिद मेमोरियल अस्पतालले जनस्वास्थ्य सेवामा नयाँ विश्वास, नयाँ ऊर्जा र नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।


