
सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा र दुर्वाष्टमी पर्व धुमधामसँग मनाइरहेका छन् । भाद्र महिनामा मनाइने यस पर्वमा उमा–महेश्वरसहित दुबो र विभिन्न वनस्पतिको पूजा गरी व्रत बस्ने प्रचलन छ ।
धर्मशास्त्रविद्हरूका अनुसार शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भनिन्छ । नयाँ बर्तालुले शुक्ल पक्षमै व्रत सुरु गर्नुपर्ने विधान छ ।
गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ ।
गौरापूजामा पाँच किसिमका गेडागुडी (बिरुडा) चढाइने, देवीलाई गाउँको नायकले भित्र्याउने र विसर्जनपछि मागल गीत–नृत्य गर्ने परम्परा रहेको छ । दुबोको पूजा पनि गरिने भएकाले यसलाई दुर्वाष्टमी भनिन्छ ।
दुईतीन दिन पूजा गरिसकेपछि मङ्गल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलासयमा लगी सेलाइन्छ ।
जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्न नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ ।
देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरूले मनाउने गरेका छन् ।
राजधानीमा पनि ती प्रदेशवासीहरूको बसोबास बढेसँगै टुँडिखेललगायत स्थानमा देउडा गीत र नृत्यसहित गौरा पर्व मनाइने परम्परा बनेको छ ।