NRN
महाधिवेशन लम्बिएपछि रास्वपा प्रतिनिधि आक्रोशित, कतिपय मतदान नै नगरी घर फर्किए

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण विवादमा परेको छ । असार ९ गतेभित्र सक्ने भनिएको महाधिवेशन असार ११ गतेसम्म पनि सकिएको छैन । महाधिवेशन कार्यतालिकाभन्दा दुई दिन ढिलो भएपछि प्रतिनिधि, नेता र कार्यकर्ताहरू असन्तुष्ट बनेका हुन् । 

महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि गएराति १२:३० बजेदेखि मतदान शुरू भएको थियो। जुन अहिले पनि जारी छ । मतदान प्रक्रिया निकै लामो समयसम्म चल्दा घण्टौँसम्म लाइनमा बस्नु परेको प्रतिनिधिहरूले गुनासो गरेका छन् । 

मतदान चलिरहँदा पनि निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम सङ्ख्या सार्वजनिक गर्न सकेको छैन। आयोगले करिब ४ हजारभन्दा बढी प्रतिनिधि रहेको अनुमान गरे पनि यकिन सङ्ख्या अझै स्पष्ट नभएको हो । केही प्रदेशमा समयमै अधिवेशन हुन नसक्दा प्रतिनिधि सम्बन्धी विवाद र प्राविधिक समस्या आएको निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले बताए। मतदान सकिएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने उनको भनाइ छ ।

महाधिवेशनमा पहिलो चरणअन्तर्गत ९९ केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनबाट केन्द्रीय सदस्यहरूको टुङ्गो लागेपछि मात्र सभापतिले थप ५१ जना सदस्य मनोनयन गर्नेछन् । त्यसपछि मात्र पदाधिकारी चयनको प्रक्रिया शुरू हुने भएकाले महाधिवेशन अझै लम्बिने निश्चित छ।

लामो पर्खाइ र कमजोर व्यवस्थापनका कारण देशका विभिन्न जिल्लाबाट आएका धेरै प्रतिनिधिहरू निराश भएका छन्। कतिपय प्रतिनिधिहरू त मतदान प्रक्रिया नै पूरा नगरी घर फर्किसकेका छन्।

 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update