
काठमाडौं । दुईतिहाइ बहुमत प्राप्त सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुकुम्वासी बस्ती हटाउनेबारे पार्टीलाई जानकारी नभएको बताएको छ । शनिबार (वैशाख १२)देखि नै सुकुम्वासी बस्तीमा डोजर चलाउने अन्तिम तयारी भइरहेको बेलामा सत्तामै रहेको दलले सरकारलाई नै थाहा हुने बताएको हो ।
फागुन २१ गतेको प्रतिनिधिसभा चुनावअघि रास्वपा सभापति रवि लामिछानेले सुकुम्वासी बस्तीमा पुगेर कसैले डोजर चलाउँछ भने आफू सबैभन्दा पहिला छाती थाप्न जाने आश्वासन दिएका थिए । शनिबारदेखि बस्तीमा डोजर चलाउने सरकारको तयारीविरुद्ध सुकुम्वासीहरू प्रदर्शनमा उत्रिसकेका छन् । उनीहरूले सभापति लामिछानेलाई छाती थाप्न आउन आग्रह गरिरहेका छन् ।
सरकारले काठमाडौं महानगरको समन्वयमा काठमाडौंका विभिन्न सुकुमवासी बस्ती भोलि बिहानबाट हटाउने तयारी छ । त्यसका लागि त्यहाँ बसोबास गर्दै आएकाहरूलाई ठाउँ खाली गर्न माइकिङ गरिएको छ ।


