
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना मतदान मितिभन्दा झण्डै एक महिना अगावै, २१ माघदेखि नै फिल्डमा परिचालन हुँदैछ । निर्वाचन पूर्व सुरक्षा रणनीतिअनुसार सेना गस्ती, संवेदनशील क्षेत्र निगरानी तथा अन्य तयारीमा खटिन लागेको हो ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सेनाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । यसपटक देशभर ७९ हजार ७२७ सैनिक परिचालन हुनेछन् । उनीहरूले आवश्यकताअनुसार गस्ती पेट्रोलिङ गर्ने, संवेदनशील मतदानस्थलमा संयुक्त गस्ती गर्ने तथा निर्वाचन अधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गर्दै तेस्रो घेरामा रहेर सुरक्षा दिनेछन् ।
अघिल्ला निर्वाचनभन्दा चाँडै परिचालन
यसअघिका निर्वाचनहरूमा नेपाली सेना प्रायः मतदान मितिभन्दा दुईदेखि तीन हप्ता अगाडि मात्रै फिल्डमा परिचालन हुने गरेको थियो । तर यसपटक सुरक्षा चुनौती, संवेदनशीलता र निर्वाचन बहिष्कारको घोषणा गरेका समूहहरूको गतिविधिलाई मध्यनजर गर्दै सेना एक महिना अगावै परिचालन गरिएको हो । समयमै फिल्डमा खटिँदा अवस्था विश्लेषण, गस्ती र आकस्मिक परिस्थितिमा छिटो प्रतिक्रिया दिन सहज हुने सेनाको भनाइ छ ।
हवाई गस्ती र हेलिकप्टर तयारी
निर्वाचन अवधिभर सेनाले हवाई गस्तीसमेत गर्नेछ । विकट तथा अतिसंवेदनशील क्षेत्रमा हवाई निगरानी, मतपेटिका र मतपत्र ढुवानीका लागि हेलिकप्टर प्रयोग गरिनेछ । सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र इटहरीमा स्ट्याण्डबाई हेलिकप्टर राखिने व्यवस्था मिलाइएको छ ।
बम डिस्पोजलदेखि प्रतिष्ठान सुरक्षासम्म
निर्वाचन भाड्ने प्रयास हुनसक्ने भन्दै बम डिस्पोजल टोली पनि अति संवेदनशील मतदानस्थल केन्द्रित गरी तैनाथ गरिएको छ । साथै, निर्वाचन अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा फिल्डमा खटिने भएकाले विमानस्थल, कारागार, सिंहदरबारलगायत महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ ।
यसरी, अघिल्ला निर्वाचनको अनुभव र वर्तमान सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै यसपटक नेपाली सेना एक महिना अगावै परिचालन गरिएको सुरक्षा अधिकारीहरूको निष्कर्ष छ ।


