
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहका केही नेताहरूको छलफल सकिएको छ । छलफलले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन पनि रोक्न आग्रह गर्ने निष्कर्ष निकालेको छ ।
काठमाडौंको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामालगायतको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।
लफलको जानकारी दिँदै केन्द्रीय सदस्य गुरु बरालले पार्टी कमजोर बनाउनेहरू सक्रिय भएकोले त्यसलाई कसरी रोक्न सकिन्छ भनेर छलफल भएको बताए ।
‘इतिहासको मोडलमा पेलिचो छ । पार्टी विभाजन र कमजोर बनाउन सक्रिय छन् । त्यसकारण पार्टी एकता र फुटबाट जोगाउन कसरी सकिन्छ भन्ने छलफल भयो,’ उनले भने, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र जान्छ । भूराजनीति तथा राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुन नदिन देश भरका साथीहरूलाई आह्वान गर्ने निर्णय भयो ।’
उनले विशेषको नाममा पार्टी विभाजन हुन लागेको भन्दै विशेष भनिरहेकाहरूलाई पनि पार्टी एक ढिक्का बनाउन आह्वान गरिने बताए । ‘विशेषको नाममा पार्टी विभाजन हुन लाग्यो , उहाँहरूलाई पनि कांग्रेस एकढिक्का बनाउन आह्वान गर्ने निर्णय भयो,’ छलफलपछि उनले भने, ‘हामीले युवा र जिल्ला सभापतिको भेला बोलाएर मुठभेडतिर हैन एकतामा ल्याउन लागेका हौँ ।’
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितले पुस २७ गतेलाई विशेष महाधिवेशन आह्वान गरेका छन् भने संस्थापन समूहले सोही दिन युवा तथा जिल्ला सभापति भेला डाकेको छ ।


