NRN
अँग्रेजी नयाँ वर्षमा  सोचे जस्तो भएन पर्यटकिय क्षेत्रमा होटल बुकिङ

काठमाडौं । अँग्रेजी नयाँ वर्षमा अघिल्ला वर्षमा जस्तो होटल बुकिङ नभएको होटल व्यवसायीहरूले जनाएका छन् । सन् २०२६ को अंग्रेजी नयाँ वर्षको अघिल्लो दिनसम्म नेपालका लोकप्रिय पर्यटकीय ठाउँहरूमा होटल बुकिङको अवस्था अपेक्षाकृत नरहेको व्यवसायीहरूले जनाएका छन् ।

व्यवसायीहरूले नयाँ वर्षमा बिदा नभएको र अहिले घुमघामको माहोल पनि कम भएकोले होटलमा पर्यटकहरू कम भएको हुन सक्ने अनुमान गरेका छन् । सौराहा, नगरकोट र धुलिखेलका पर्यटकहरूले यसो बनिरहँदा पोखरामा भने अपेक्षाकृत पर्यटकहरू आएका छन् ।

 

नगरकोटका व्यवसायी सन्दिप योंगलले यसपालि नयाँ वर्षको पूर्वसन्ध्यामा आफ्नो होटलमा ५० प्रतिशत पनि अकुपेन्सी नभएको बताएका छन् । तर पोखराका धेरै होटलले ९० प्रतिशत बुकिङ भइसकेको जानकारी होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दिएका छन् । उनीहरूले पोखरामा सडक महोत्सव र क्रिसमस पछि आएको चहलपहलले होटल अकुपेन्सी बढाएको उल्लेख गरेका छन् ।

 

सौराहामा विभिन्न होटल सञ्चालन गरेर बसेका व्यवसायी उत्सव पौडेलले सौराहामा पनि अपेक्षाकृतरूपमा होटल बुकिङ नभएको बताएका छन् । उनले नयाँ वर्षमा बिदा नपरेका कारण होटल बुकिङ कम भएको हुन सक्ने बताए । नयाँ वर्षमा बढी भारतीय पर्यटकहरू आउने भए पनि जेनजी आन्दोलनपछि भारतीय पर्यटकहरूको संख्या समेत कम भएको उनको भनाइ छ ।

 

 

यद्यपि, केही क्षेत्रका होटलहरूले नयाँ वर्ष इभका लागि विशेष प्याकेजहरू ल्याएका छन् । काठमाडौं वरिपरिका होटलहरूमा पनि बुकिङ केही उत्साहजनक देखिएको होटल संघ (हान)ले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update