जेन–जी आन्दोलनको क्रममा पोखराको लेकसाइडमा रहेको बरपिपल रिसोर्टमा आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २९ वर्षीय रूपक नेपाली, पोखरा–१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ रहेका छन् ।
आन्दोलनकारीले गएको भदौ २४ गते पटक–पटक बरपिपलमा पुगेर आगजनी र लुपटपाटको प्रयत्न गरेका थिए ।
तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगानी रहेको भन्दै जेन-जी आन्दोलनको क्रममा उक्त रिसोर्टमा आगजनी गरिएको थियो ।
आफ्नो रिसोर्टमा आगजनी र लुटपाटमा संलग्नहरुलाई कारवाहीको माग गर्दै आएका रिसोर्ट संचालक जीतु गुरुङले एक हप्ताअघि पोखरामा भदौ २३ र २४ गतेको आन्दोलनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आयोजना गरेको कार्यक्रममा आफू लिखित रुपमा प्रमाणसहित जाहेरी दिन तयार रहे पनि कारवाहीको सुनिश्चितता हुनुपर्ने माग गरेका थिए ।
प्रहरीले व्यवसायीको जाहेरी र अनुसन्धानपछि आपराधिक कार्यमा संलग्नमाथि कारवाही प्रक्रिया अगाडि बढाएको कास्की प्रहरीले जानकारी दिएको छ ।

