NRN
बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति, १५ दिनमा पूर्वसहमति कार्यान्वयन गर्ने कुलमानको प्रतिबद्धता

४ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ ।

आइतबार सहरी विकास मन्त्री कुलमान घिसिङ सहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई स्थानीयको माग १५ दिन भित्र पुरा गर्ने प्रतिबद्धता गरेपछि स्थानीय फोहोर फाल्न दिन तयार भएका हुन् ।

कुलमान घिसिङ सहित आज बिहानै  काठमाडौँ  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई सहितको टोली बञ्चरेडाँडामा पुगेका थिए । 

ल्याण्डफिल साइट क्षेत्रका प्रभावित स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौतामा संघीय सरकार र महानगरपालिकाले उदासीनता देखाएको भन्दै फोहोर फाल्न अवरोध गरेका थिए ।

शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो ।

काठमाडौँ महानगरपालिका सहित उपत्यकाका स्थानीय तहबाट बञ्चरेडाँडामा फोहोर दैनिक १५० गाडी भन्दा धेरै जाने गरेको छ । 

ल्याण्डफिल साइटबाट नुवाकोटको ककनी गाउँपालिका र बेलकोट गढी नगरपालिका, धादिङको धुनवेशी नगरपालिकाका स्थानीय प्रभावित हुँदै आएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update