NRN
निजी अस्पतालमा नर्सको श्रम शोषण बन्द गर्न माग गर्दै प्रदर्शन

नेपाल नर्सिङ सङ्घको आह्वानमा नर्सहरूले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार सरकारी नर्स सरहको सेवा सुविधा पाउनुपर्ने लगायतका माग राखेर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

 

 

 

सोही क्रममा मिनभवनस्थित सिभिल अस्पतालका नर्सहरूले आज अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा २ घण्टा बन्द गरेर विरोध प्रदर्शन गरेका छन् ।  

 

 

सङ्घले पुनः पेस गरेको माग पुरा गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यदल गठन गरेको छ । उक्त कार्यदलको कार्यअवधि छठ पर्वपछि ७ दिन रहेको छ ।  शान्तिपूर्ण प्रदर्शन देशका अन्य अस्पतालमा समेत भइरहेको सङ्घले जनाएको छ ।

०८२ असोज २४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पत्राचार भएअनुसार निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत सबै नर्सहरूको न्युनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी प्रदान गरिनुपर्ने संघको मुख्य माग छ ।

नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थापन गरिनुपर्ने, जोखिम भत्ता, अतिरिक्त भत्ता प्रदान गरिनुपर्ने, दरबन्दी सिर्जना, स्तरवृद्धि, अनिवार्य नियुक्तिपत्र, योग्यताका आधारमा जिम्मेवारी, ग्रेडको व्यवस्था, क्षमता अभिवृद्धि, नीति निर्माणमा सहभागिता, क्षतिपूर्तिलगायतका माग राख्दै नर्सहरू आन्दोलित छन् ।

श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने नर्सिङ संघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update