रुपन्देहीमा उद्योगहरूमा भएको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगको लाइन काटेपछि सुरु भएको उद्योगीहरूको आन्दोलनमा सहभागी भएका गौतम बिहीबार दिउँसो कार्यक्रममा भाषण गर्दै गर्दा अचानक ढलेका थिए ।
उनलाई तुरुन्तै उपचारका लागि तिलोत्तमा नगरपालिकास्थित मणिग्रामको क्रिमसन अस्पताल पुर्याइएको थियो । तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन् ।
एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले गौतमको मृत्यु भएको पुष्टि गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाएका थिए । उनले श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आह्वान गर्दै भाषण गरिरहेका बेला बेहोस भई ढलेका थिए ।
बुटवल उपमहानगरपालिका–३, लक्ष्मीनगर निवासी गौतम लामो समयदेखि जिफन्टको नेतृत्वमा सक्रिय थिए । हाल गौतमको शव क्रिमसन अस्पतालमा राखिएको छ भने उद्योगी, व्यवसायी र विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरू अस्पताल परिसरमा उपस्थित रहेका छन् ।


