NRN
२८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि भारतको स्वीकृति

नेपाल विद्युत् प्राधिकरणले २ सय ८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित २ सय ८३ मेगावाट विद्युत् निर्यातका लागि दिइएको स्वीकृति नवीकरण गरिदिएको छ ।

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नवीकरण भएको हो । सबै आयोजनाको निर्यात गत मंगलबारबाट लागु हुने गरी करिब एक वर्षका लागि नवीकरण स्वीकृति भएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

नेपालले भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात गर्दै आएको छ । उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् आइएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएक्सको आठौं सभामा सहभागी हुन भारत नयाँदिल्ली भ्रमण क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरसँगको भेटमा विद्युत् निर्यात स्वीकृतिको प्रक्रिया सरलीकृत गरिदिन आग्रह गरेका थिए ।

उनले नेपालमा विद्युत् उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृत गरिदिन समेत आग्रह गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update