सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पबाट आज बिहान सम्म १ सय ६२ जनाको उद्वार गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा गएको फौजले १७ बिदेशी पर्यटकसहित आज बिहान सम्म १ सय ६२ जनाको उद्धार गरेको हो ।
सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेस क्याम्पमा हिउँ पहिरो आइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्वारका लागि सुरक्षा फौज बेसक्याम्पतर्फ गएको थियो ।
बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो । सबै पर्यटकको उद्धार भएपछि यतिखेर बेसक्याम्प खाली भएको छ ।
३ दिनको निरन्तर प्रयासपछि बेसक्याम्प हिँडेका केही पर्यटकलाई बाटोबाट नै फर्काइएको थियो । हिजो बुधबार मात्रै बेसक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो ।
कार्तिक ११ गते बाटोबाट फर्काइएका र आज बिहान पनि बेसक्याम्पबाट तल झारिएकासहित १ सय ६२ जनाको उद्धार भएको हो । उद्धार गरिएकाहरुलाई अन्नपूर्ण गाउँपालिका–४ गुफाफांट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ ।
उनीहरु सबै हिमपात नभएको सुरक्षित स्थानमा छ्न् । माथिल्लो क्षेत्रमा संचार सम्पर्क नभए पनि आज साँझसम्म सबै जना परिवारसँग फोन सम्पर्कमा आउनेछन् ।


