NRN
उपचारका लागि सिंगापुर जाँदै देउवा दम्पती

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेका हुन् ।

जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते निवास बूढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण भएको थियो ।

सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने तत्कालीन परराष्ट्र मन्त्री राणालाई पनि प्रदर्शनकारीहरूले लछारपछार गरेका थिए । त्यस दिन नेपाली सेनाले उद्धार गरेर सभापति देउवा दम्पतीको उपचार गरेको थियो ।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा गत असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले सोही दिन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति जिम्मा दिएका थिए ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घरभित्रै छिरेर प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि आक्रमण गरी घाइते बनाएका थिए भने घरसमेत आगजनी गरेका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update