
दसैँमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । अहिले सुरुङमार्ग परीक्षण भइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ ।
आयोजनाका इन्जिनियर सञ्जय पन्थीका अनुसार आज सुरुङको अगाडि बलम्बुमा रहेको फ्लाइओभरको परीक्षण गरिएको छ। यो परीक्षण ४८ घण्टाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।
साथै दसैँका लागि खुला गर्ने तयारी भए पनि अहिले परीक्षणकै क्रममा रहेकाले कहिले देखि सवारी चल्न दिने भन्नेबारे टुङ्गो नभएको बताए । सुरुङको पश्चिमी पोर्टलमा समस्या रहेको र समाधानका लागि काम भइरहेको पनि उनले बताए ।
गत शनिबार यातायात व्यवसायीहरूसँगको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उक्त सुरुङ दसैँमा सञ्चालन गर्न निर्देशन दिएका थिए । साथै सुरुङमार्ग सञ्चालनका लागि निर्माण कम्पनी र सरकारबिच छलफल पनि भइरहेको छ ।
दसैँमा काठमाडौँ बाहिरिने यात्रुबाहक सवारीका लागि मात्र यो सुरुङ निःशुल्क खुला गरिने जनाइएको छ ।