NRN
जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी संखुवासभामा पक्राउ

जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी संखुवासभामा पक्राउ परेका छन् ।

प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको हो । चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका राईलाई चैनपुर–१० स्थित घरबाट प्रहरीले पक्राउ गरिएको हो ।

त्यसैगरी, सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चैनपुर नगरपालिका–९ का ३१ वर्षीय सुभाष तामाङ र जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चिचिला गाउँपालिका–२ का ५७ वर्षीय गोम्बु शेर्पालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

आन्दोलनको क्रममा तामाङ र शेर्पा झुम्का कारागारबाट भागेका हुन् भने राई नख्खु कारागारबाट भागेका थिए ।

पक्राउ परेका तीनै कैदीलाई बुधबार क्षेत्रीय कारागार झुम्कामा बुझाउने तयारी भइरहेको जिल्ला कारागारका प्रमुख जेलर राजन घिमिरेले बताए ।

जिल्ला कारागार खाँदबारीमा भने हाल एक सय ३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई आश्रित बालबालिका रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update