NRN
राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ

राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । 

सुरक्षा व्यवस्थाको नेतृत्व गरेको सेनाले निकै कडाइ गरेको हो । शुक्रबार बिहान ११ बजेदेखि निषेधाज्ञा लागू भए सँगै सो क्षेत्र भएर आवतजावतमा निकै कडाइ गरिएको हो । 

गए रातिदेखि अन्तरिम सरकार गठनका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पक्षहरूसँग छलफल गरिरहेका छन् । 

जेनजीका प्रतिनिधिहरूले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा सिफारिस गरेपछि सरकार गठनबारे छलफल चलिरहेको छ ।

राष्ट्रपति पौडेलले प्रमुख राजनीतिक दलका नेता र प्रतिनिधिहरूसँग पनि छलफल गरिरहेका छन् ।

बुधबार जेनजीको प्रदर्शनका क्रममा राष्ट्रपति भवनमा पनि आगजनी भएको थियो । राष्ट्रपति कार्यालय पूर्ण रूपमा क्षति भएको छैन । 

अहिले राष्ट्रपतिले शीतलनिवासबाटै छलफल र संवाद अघि बढाएपछि सेनाले त्यहाँको सुरक्षा बढाएको हो । 

मूल गेट र भवन परिसरमा पनि बाक्लो संख्यामा सेनाको उपस्थिती छ । त्यसआपसपास सडकमा पनि सेनाको उपस्थिती छ ।लैनचौर- महाराजगन्ज सडकमा तुलनात्मक रूपमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update