
स्वास्थ्य शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले तीन दिने सत्याग्रह सुरु गरेका छन् ।
शिक्षा स्वास्थ्यजस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच अभिवृद्धिको सुनिश्चितता, युद्धग्रस्त मुलुकमा शान्ति स्थापनाको माग गर्दै आइतबार धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह सुरु गरेको जानकारी दिएका हुन् ।
आफ्नो माग पूरा गर्न दबाब दिने उद्देश्यले भदौ १७ गतेसम्म सत्याग्रहमा बस्ने डा. केसीले प्रस्ट पारे ।
गलत रुपमा गरिएको निजी मेडिकल कलेजहरूको सिट वृद्धि फिर्ता गर्ने साथै इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने र कैलालीको गेटामा पूर्णरूपमा अस्पताल सेवा र शैक्षिक कार्यक्रम तुरुन्त सञ्चालनमा ल्याउनेलगायत यस अघि आफूहरूसित भएका सम्झौता कार्यान्वयन गर्न दबाब दिन सत्याग्रहमा बस्नु परेको उनको भनाइ छ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगबाट गलत ढंगले मेडिकल कलेजहरूलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय भएको भन्दै उक्त निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन् ।
विद्यार्थी भर्ना सिट संख्या वृद्धि गर्दा नेता र माफियाको झोला भरिने तर शिक्षाको गुणस्तरमा ह्रास आउने डा. केसीको भनाइ छ ।
उनले चीन र भारतले नेपालको लिपुलेक हुँदै व्यापार गर्ने सहमति गरेको समाचार प्रकाशमा आइहेको जिकिर गर्दै सीमा मिचाइको विरोधमा यस अघि पनि सत्याग्रह गरिसकेको स्मरण गराएका छन् ।