NRN
प्रधानन्यायाधीश सिंह राउतले चार जना वरिष्ठ न्यायाधीशलाई नराखी गरे संवैधानिक इजलास गठन

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले चार जना वरिष्ठ न्यायाधीशलाई नराखी संवैधानिक इजलास गठन गरेका छन् ।

गोलाप्रथा गर्ने प्रस्तावपछि उत्पन्न विवादले लामो समयदेखि बस्न नसकेको संवैधानिक इजलास प्रधानन्यायाधीश राउतले बुधबार गठन गरेका हुन् ।

संवैधानिक इजलासमा धेरैजसो वरिष्ठताका आधारमा न्यायाधीशहरू राखिँदै आएका थिए । तर बुधबार प्रधानन्यायाधी राउतले वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लपछिका चार जना वरिष्ठ न्यायाधीशहरूलाई नराखी इजलास गठन गरेका हुन् । 

आजको इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतका अलावा न्यायाधीशहरू सपना प्रधान मल्ल, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा छन् ।

वरिष्ठतामा अगाडि रहेका न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र कुमार चूडाललाई छुटाइएको छ ।

संवैधानिक पदाधिकारी विवादमा न्यायाधीशहरूबीच राय बाझिँदा प्रधानन्यायाधीश राउत अल्पमतमा परेका थिए । त्यतिखेर राय बझाउने न्यायाधीशद्वय कुमार चूडाल र मनोजकुमार शर्मालाई आजको संवैधानिक इजलासमा राखिएको छैन ।

संवैधानिक नियुक्ति विवादमा प्रधानन्यायाधीश राउत र न्यायाधीश नहकुल सुवेदीले पहिलो चरणमा भएको नियुक्ति बदर हुने र दोस्रो चरणको नियुक्ति सदर हुने राय दिएका थिए ।

तर, कुमार चूडाल र मनोजकुमार शर्माले दुवै चरणका नियुक्ति सदर हुने राय दिएका थिए ।

पछि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले पनि दुवै चरणका नियुक्ति सदरको पक्षमा राय दिएपछि प्रधानन्यायाधीश राउतको राय अल्पमतमा परेको थियो ।

त्यसपछि प्रधानन्यायाधीश राउतले संवैधानिक इजलास गठनमा रूचि देखाएका थिएनन् । 

संवैधानिक इजलासमा गोला प्रक्रिया लागू गरिएको छैन । प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा न्यायाधीश तोक्दै आएका थिए। यसपालि वरिष्ठतामा अगाडि रहेका चार न्यायाधीश छाडेर संवैधानिक इजलास गठन गरेका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update