NRN
नेपाल शिक्षक महासंघको आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना

नेपाल शिक्षक महासंघले आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज सानेपास्थित कांग्रेस कार्यालयमा महासंघले धर्ना दिएको हो ।

धर्ना कार्यक्रम २ बजेसम्म जारी रहनेछ । उनीहरुले ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ । २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्‍बाट पारित भएका ९ बुँदा समेत अझै कार्यान्वयन नभएको महासंघले जनाएको छ । ९ बुँदा कार्यान्वयन गर्न महासंघले माग गरेको छ ।

विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको र बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको निष्कर्ष महासंघको छ ।

संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको महासंघको भनाइ छ । शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने विधेयकको प्रवन्धमा महासंघले विरोध जनाएको छ ।

शिक्षण काउन्सिलको व्यवस्था र राष्ट्रिय परीक्षा बोर्डमा महासङ्घको प्रतिनिधित्व नराखिएकोमा महासंघले असन्तुष्टि जनाएको छ ।

सम्बोधन हुन छुटेका सबै विषय सहमति अनुसार प्रतिवेदनमा समावेश गर्न र प्रतिनिधि सभामा पेस गर्न नेपाल शिक्षक महासँगले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update