माघ, काठमाण्डौ । पश्चिमी वायुको प्रभावका कारण राजधानीलगायत मुलुकभर विहानैदेखि वर्षा भएको छ भने नेपालको सुदूरपश्चिमी पहाडी जिल्लामा भारी हिमपात भएको छ ।
राजधानीलगायत मुलुकभर मंगलबार विहानैदेखि पानी परेपछि मौसम चिसो भएको छ । वर्षाका कारण राजधानीका मुख्य बजारहरुमा चहलपहल कम छ भने विगत दिनका तुलनामा कम सवारीका साधन गुडेका छन् । मौसमविदहरुका अनुसार पानी पर्ने क्रम तीन दिनसम्म जारी रहने छ ।
सामान्यतः माघ महिनामा पानी पर्ने गरेपनि विगत दस वर्षदेखि नियमित हिउँदे वर्षा नभएको अवस्थामा आज पानी पर्नुलाई सुखद मान्नुपर्ने मौसमविदहरुको भनाई छ ।
गएरातिदेखि डडेलधुरा, बैतडि, बाजुरा, हुम्ला, जुम्ला, मुगु, बझाङलगायत जिल्लामा बाक्लो हिउँ जमेको छ । बाक्लो हिमपातका कारण सुदूरपश्चिमका विद्यालयहरु बन्द गरिएको छ भने सर्वसाधरणहरु घरबाट बाहिर निस्कन सकेका छैनन् ।
जुम्लाबाट खाद्यान्न लिएर मुगुतर्फ हिँडेका खच्चडहरु बाक्लो हिमपातका कारण बाटोमै रोकिएका छन् । जुम्लामा हवाईसेवा, विद्युत र सन्चार अबरुद्ध भएका छन् ।