काठमाण्डौं । सर्वसाधारणलाई सेयर बिक्री गर्ने तयारी सुरु भएको डेढ वर्षपछि कृषि विकास बैङ्क लिमिटेडले सेयर निष्कासन कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
मङ्गलबार पत्रकार सम्मेलन गरी बैङ्कले नेपाल धितोपत्र बोर्डबाट सेयर जारी गर्न उठाएका मुद्दा समाधान भइसकेको जनाउँदै बोर्डबाट पत्र प्राप्त गर्ना साथ सर्वसाधारणका लागि सेयर बिक्री खुल्ला गर्ने जानकारी दिएको हो ।
बैङ्कले ९६ करोड रुपियाँको सेयर निष्कासन गर्न लागेको छ । यो कुनै एक संस्थाको सबैभन्दा ठूलो हो । सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्ति गरी सङ्कलन केन्द्रसमेत तोकिसकिएको कृषि विकास बैङ्कले जनाएको छ ।
मुलुककै ठूलो पुँजी संरचना रहेको यस बैङ्कले गएको आर्थिक वर्षमा एक अर्ब ७२ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ । तीन अर्ब २० करोड रुपियाँ चुक्ता पुँजी रहेको यस बैङ्कको निक्षेप सङ्कलन ३५ अर्ब १६ करोड रुपियाँ र कर्जा लगानी ३८ अर्ब ३० करोड रुपियाँ रहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्यामसिंह पाण्डेले परम्परागत कार्यशैली परिवर्तन गरी आधुनिक बैङ्किङ सेवा प्रदान गर्न एसियाली विकास बैङ्कको सहयोगमा बैङ्किङ सˆटवयर -सीबीएस) खरिद गर्न सम्झौता गरेको जानकारी दिँदै सीबीएसको सफल कार्यान्वयनसँगै
फोरेक्स कारोबार, एसी -प्रतीतपत्र) कारोबार, नेपालभरिका शाखामार्फत अनलाइन बैङ्किङ, एटीएम सेवा सुरु गरिने बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत पाण्डेले गएको आर्थिक वर्ष कृषि विकास बैङ्कका लागि उपलब्धिमूलक रहेको दाबी गर्दै यस अवधिमा बैङ्कको वित्तीय स्थिति एवं कार्यसम्पादन सकारात्मक रहनुको साथै मुनाफाको स्थितिले बैङ्कको वित्तीय अवस्था सवल बन्दै गएको बताउनुभयो ।
मुलुकभर २४१ शाखाको कार्यसञ्जाल रहेको कृषि विकास बैङ्कले बैङ्किङ शाखाको सङ्ख्या ९४ पुर्याएको छ । विस्थापित कार्यालयमध्ये २३ वटा पुनस्र्थापना गरेको जानकारी दिएको छ ।
सरकारको कर्जाको साँवा तथा ब्याज मिनाहा कार्यक्रम अन्तर्गत चार अर्ब १७ करोड रुपियाँ सरकारबाट शोधभर्ना प्राप्त भएको र त्यसमध्ये तीन अर्ब ८६ करोड रुपियाँ पुँजीगत जगेडा कोषमा सारिएको जनाउँदै बैङ्कले यसबाट बैङ्कको जगेडा कोषमा उल्लेख्य सुधार भएको बताइएको छ ।